प्रतिनिधि सभाको बैठकः सत्तापक्ष पेलेरै जाने,एमाले अवरुद्ध गर्ने

बाइलाइन नेपाल
२५ भाद्र २०७८, शुक्रबार ०७:४३

नेकपा एमालेले लगातार प्रतिनिधि सभाको बैठक अवरुद्ध पार्न थालेपछि यसको समाधान खोज्न थालिएको छ । तर अहिलेसम्म सत्ता पक्ष र एमाले बीच सहमतिको विन्दु भेटिएको छैन् । आज बस्ने बैठक पनि एमालले अवरुद्ध गर्ने भएपछि सत्ता पक्ष पेलेरै जाने तयारीमा रहेको छ ।

सभामुख अग्निप्रसाद सापकोटासँग असन्तुष्ट रहेको नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध पार्न थालेको हो । भदौ २३ गते एकै दिन बसेका ३ वटा बैठक अवरुद्ध गरेको एमाले आफ्नो दलले कारवाही गरेका माधव नेपालसहित १४ जना सांसदलाई जोगाएकोमा सभामुख सापकोटासँग क्रुद्ध बनेको हो ।

एमालेले बैठक अवरुद्ध गर्दै जाने र सभामुखसँग पनि एमालेलाई आश्वस्त पार्ने कुनै अस्त्र नभएको अवस्थामा सदन सुचारु गर्न जटिलता थपिएको छ । आज पनि संसद बैठक बस्दैछ । तर, सत्तापक्ष र प्रतिपक्ष दुबै आ–आफ्नै अडानमा ढिट देखिएका छन् ।

माधव नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० लाई मान्यता दिन एमालेले अस्वीकार गरिरहेकै बेला बिहीबार एमसीसी उपाध्यक्ष फातिमा सुमारले केपी ओलीलाई भेटिसकेपछि सिंहदरबार पुगेर दोस्रो भेटवार्ता माधव नेपालसँग गरिन् । अन्तरराष्ट्रिय समुदायले यसरी अलग्गै दलको मान्यता दिए पनि एमालेले भने माधव नेपाल लगायत १४ सांसदलाई मान्यता दिन अस्वीकार गरेको छ । पार्टीले कारवाही गरिसकेका माधव नेपाल लगायत १४ सांसदको पद खारेज हुनैपर्ने सभामुखसँग एमालेको माग छ ।

सभामुख सापकोटाले संसदमा रहेका सबै दललाई समान व्यवहार नगरेको एमालेको गुनासो छ । एमाले नेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले ‘सभामुखले सबै दलका सांसदको मन जित्न सक्नुपर्ने बताए ।

सभामुख र संसद सचिवालयलाई पार्टीको केन्द्रीय कमिटीबाट निर्णय भएर सांसदमाथि भएको कारवाही रोक्ने कुनै अधिकार नदिएको एमालेको तर्क छ । सभामुखको काम संसद चलेको भए पढेर सुनाउँने र संसद नभएको बेला सूचना टाँस गर्नेमा सिमित हुुनुपर्नेमा एक कदम अगाडि बढेको भन्दै एमाले सितिमिति पछि नहट्ने सोचमा रहेको छ ।

सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्रका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले राजनीतिक दलहरुबीच सहमतिको खाँचो औंल्याएका छन् ।

महरा एमालेले आफ्नो अडान छाड्नुपर्ने र पार्टी विभाजनलाई स्वीकार्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘त्यो कुरा ९१४ सांसदको कारवाही ० अब छोडनुपर्छ । फुटिसकेपछि फुटको स्वीकार गर्न सक्नुपर्छ । त्यसो गरिसकेपछि सहमति हुन्छ ।’

एमाले नेता नेम्वाङले भने अब सत्तापक्षले नै प्रतिपक्षसँग सम्वाद थाल्नुपर्नेमा जोड दिए । जे हुनु भइसकेकाले अब सत्तापक्षले एक कदम अगाडि बढेर प्रतिपक्ष दलसँग वार्ता गरेर चालू गतिरोधलाई अन्त्य गर्न सक्ने विकल्प रहेको नेम्वाङले बताए ।

संसदको जारी अधिवेशनमा हुने अवरोध कसरी अन्त्य गर्ने र संसदलाई कसरी नियमितरुपमा अगाडि बढाउने भन्ने सन्दर्भमा हालसम्म न सभामुख सापकोटाले कुनै पहल थालेका छन्, न त सत्तापक्षीय दलहरुले नै प्रतिपक्षी दलसँग छलफलको थालनी गरेका छन् । बरु यहीबीचमा सरकारले अध्यादेशमार्फत आएको बजेटलाई प्रतिस्थापन गर्ने विधेयक संसदमा टेबल गर्ने गृहकार्य अगाडि बढाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*