एमाले एकताको प्रयास अन्तिम चरणमा पुगेको दाबी

बाइलाइन नेपाल
९ श्रावण २०७८, शनिबार ०८:१६

नेकपा एमालेका दोस्रो तहका नेताहरूले पार्टी एकताको काम अन्तिम चरणमा पुगेको दाबी गरेका छन् । अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल आरोप–प्रत्यारोपमा उत्रेपनि विघटित कार्यदलका सदस्यहरूबीचको निरन्तर छलफलबाट एकता अन्तिम चरणमा पुगेको बताएका छन् ।

ओली र नेपालबीच भेटवार्ता गराएर एकतालाई चाँडै सार्वजनिक गर्ने तयारी भइरहेको कार्यदलका सदस्यहरूको भनाइ छ । ‘एकताको काम अन्तिम चरणमा पुर्‍याएका छौं,’ कार्यदलका एक सदस्यले भने, ‘एकताको अस्त्र के हो भन्ने अहिले सार्वजनिक नगर्ने भन्ने छ । आजभोलि नै नजिता आउँछ ।’

अध्यक्ष ओलीले बिहीवार सम्पन्न केन्द्रीय कमिटी बैठकमा फ्लोर क्रस गरी विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा मत दिने वरिष्ठ नेता नेपाल सहितका सांसदहरूलाई आममाफी दिने घोषणा गरेका थिए । तर बैठकमा नेपाल पक्षीय नेताहरू भने अनुपस्थित थिए ।

पार्टी विवाद मिलाउन भन्दै अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल पक्षका ५/५ जना नेता रहेको कार्यदल गठन गरिएको थियो । कार्यदलले असार २७ गते राति १० बँुंदे सहमति गरी नेताहरूलाई सहमतिपत्र हस्तान्तरण गरेको थियो । तर त्यसको भोलिपल्टै सर्वोच्च अदालतले ओलीलाई प्रधानमन्त्रीबाट हटाएर कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि एमाले विवादले अर्को मोड लियो । ‘एकताको छलफल निकै नै सकारात्मक छ,’ एमाले नेता रघुजी पन्तले भने, ‘परिणाम आउने गरी नै छलफल भइरहेको छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*