माधव समूहले स्पष्टीकरणको जवाफ नदिने

बाइलाइन नेपाल
५ श्रावण २०७८, मंगलवार १३:०५

एमालेको माधव नेपाल समूहले अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएको छ । सोमबार बसेको एमाले केन्द्रीय समिति बैठकले पार्टीको ह्वीप उल्लङ्घन गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

​एमालेको यो निर्णय लगत्तै सोमबार बेलुका माधव नेपालसहितका २२ सांसदहरुबीच स्पष्टीकरणको जवाफ दिने कि नदिने भन्ने विषयमा छलफल भएको थियो । उक्त छलफलले जवाफ दिन जरुरी नरहेको निष्कर्ष निकालेको सांसद मेटमणि चौधरीले जानकारी दिए ।

उनले पार्टी विवादपछि कोही एमाले नरहेको भन्दै दुवै पक्षले एकले अर्कोलाई मान्यता नदिएर समूह चलाइरहेको बताए । उनले एमाले हुनलाई २०७५ जेठ २ मा फर्कनुपर्ने भन्दै ओली नै जेठ २ मा नफर्किएकाले यस्तो अवस्था आएको बताए । ‘एमाले हुनलाई २०७५ जेठ २ मा फर्कनुपर्छ । त्यो ठाउँमा कोही नपुगेको अवस्थामा एउटा समूहले अर्को समूहलाई स्पष्टीकरण सोधेको कुनै अर्थ हुँदैन’, चौधरीको भनाइ छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले फ्लोर क्रस गर्ने २२ जनालाई स्पष्टीकरण पत्र पठाएको भन्दै सम्भव त आज बस्ने केन्द्रीय कमिटी बैठकले उनीहरूमाथि गर्ने कारबाहीबारे निर्णय हुनसक्ने बताए । ‘सम्भवतः आजको बैठकले निर्णय गर्छ’, तामाङको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*