प्रधानमन्त्री देउवाले पाए विश्वासको मत: पक्षमा १६५, विपक्षमा ८३ मत मात्रै

बाइलाइन नेपाल
३ श्रावण २०७८, आईतवार २२:१५

सर्वोच्च अदालतको फैसलामा टेकेर प्रधानमन्त्री बनेको एक साता नबित्दै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत मात्रै परेको छ । १ जना तटस्थ रहे ।

आइतबार राति भएको मतदानमा देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका हुन् । सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभामा भएको मत विभाजनमार्फत भएको मतदानमा देउवाले बहुमत प्राप्त गरेको घोषणा गरेका हुन् ।

प्रधानमन्त्री देउवाको पक्षमा काँग्रेससहित माओवादी केन्द्र, जसपाका दुवै पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदले मतदान गरेका थिए । त्यस्तै प्रस्तावको विपक्षमा एमालेका सांसदले मतदान गरेका थिए ।

एमालेका माधव नेपाल पक्षका केही सांसद तटस्थ बसेका थिए भने माधव नेपालसहित केही एमालेले नेताले देउवालाई मत दिएका थिए । केपी ओली पक्षकै सांसदहरू प्रेस आले र किसान श्रेष्ठ लगायतले देउवाको पक्षमा मतदान गरेका थिए ।

केहीले ‘धोका’ दिए, केहीले ‘गुन’ लगाए

सर्वोच्च अदालतमा रिट दायर गर्ने बेलामा देउवाको पक्षमा हस्ताक्षर गरेका एमाले नेता घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायतले अन्तिममा आएर देउवालाई मतदान गरेनन् । भीम रावलले मतदान हुनुअघि नै सांसद पदबाटै राजीनामाको घोषणा गरे । माधव नेपाल र उनी पक्षका केही नेताले चाहिँ आफ्नो वचन अनुसार नै देउवाको पक्षमा मतदान गरे ।

प्रतिनिधि सभा विघटनविरुद्ध गठबन्धन बनाएर न्यायिक र राजनीति लडाइ गरेको एमालेको माधव समूहका केही सांसदले देउवाको पक्षमा मतदान गरेनन् । न त उनीहरूले विपक्षमा नै मतदान गरे । बरु उनीहरू देउवाले विश्वासको मत लिने बेलामा संसद् बैठक नै छोडेर बाहिरिएर देउवालाई ‘धोका’ दिएका थिए ।

एमालेको माधव समूहका केही नेताले धोका दिए पनि देउवालाई मतदान गर्ने अपेक्षा नै नगरिएका जसपा महन्थ ठाकुर पक्षका सांसदहरूले भने पक्षमा मतदान गरे । रेशम चौधरीको रिहाइ लगायतका मागहरू पूरा गर्ने देउवाले वचन दिएपछि महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिएको हो ।

एक सिट रहेको राप्रपा तटस्थ बसेको थियो । राष्ट्रिय जनमोर्चाले देउवाको पक्षमा मतदान गरेको थियो भने नेमकिपाले विपक्षमा मतदान गरेको थियो ।

अब विश्वासको मत पाएसँगै देउवा सरकारको सुनिश्चितता कायम भएको छ । कुल १७ महिना कार्यकाल रहेको यो सरकारको काँधमा कोभिडले तहस–नहस पारेको अर्थतन्त्रलाई लयमा फर्काउने, खोपको प्रबन्ध गर्ने र स्थानीय एवं तीनै तहका आम निर्वाचनहरू सम्पन्न गर्नुपर्ने अभिभारा छ ।

संसदमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सबैसँग सहकार्य गरेर यी समस्याहरू समाधान गरिने र राष्ट्रिय एकता कायम गरिने बताएका छन् ।

५ घण्टाको बहस

प्रधानमन्त्री देउवाले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने समय रहेका कारण मत माग्न हतार नगर्ने अनुमान भइरहेका बेला ‘सरप्राइज्ड’ शैलीमा आइतबार विश्वासको मत माग्ने प्रस्ताव राखेका थिए ।

अपराह्न ४ बजे सुरु भएको बैठकको पहिलो चरणमा राष्ट्रपति कार्यालयका पत्रहरू वाचन गरिनुका साथै सरकारले गरेका विभिन्न निर्णयहरू र अध्यादेशबारे सभामुख अग्नि सापकोटाले सदनलाई सूचना दिएका थिए ।

१५ मिनेट रोकिएर बसेको दोस्रो चरणको बैठकमा एमालेका प्रदीप ज्ञवाली, काँग्रेसका डा. मिनेन्द्र रिजाल, माओवादीका प्रचण्ड, जसपाका महन्थ ठाकुर र बाबुराम भट्टराईका साथै राप्रपाका राजेन्द्र लिङदेन, जनमोर्चाकी दुर्गा पौडेल र नेमकिपाका सांसद प्रेम सुवालले संसदमा मन्तव्य दिएका थिए ।

संसदमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री देउवाले दिएपछि प्रतिनिधिसभा भोटिङ भएको थियो ।-रातोपाटी डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*