बजेट संसोधन गरेर संसदबाटै ल्याउने तयारी

बाइलाइन नेपाल
३१ असार २०७८, बिहीबार ०६:५४

नवनियुक्त चारमन्त्री बालकृष्ण खाँड, जनार्दन शर्मा, पम्फा भुसाल र ज्ञानेन्द्रबहादुर कार्कीले पदभार ग्रहण गरेका छन् । गृहमन्त्री खाँड, अर्थमन्त्री शर्मा र ऊर्जामन्त्री भुसालले बुधबार र कानुनमन्त्री कार्कीले मंगलबार आआफ्नो मन्त्रालय पुगी पदबहाली गरेका हुन् । पदबहालीका क्रममा उनीहरूले नीतिगत निर्णय लिनुका साथै मातहतका कर्मचारीलाई निर्देशनसमेत दिएका छन् । नवनियुक्त गृहमन्त्री खाँणले पहिलो निर्णयका रूपमा पूर्वी नवलपरासी जिल्ला विपद् व्यवस्थापन कोषमा त्यहाँबाट माग गरिएको रकम पठाउने फाइल सदर गरेका छन् । अर्थमन्त्री शर्माले कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५ अर्ब रुपैयाँको सहमति प्रदान गर्नेलगायतका निर्णय गरेका छन् ।

कोभिड खोप किन्न पाँच अर्ब बजेटको सहमति
काठमाडौं । अर्थ मन्त्रालयले कोभिड खोप किन्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५ अर्ब रुपैयाँ बजेट सहमति दिएको छ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले बुधबार पदभार ग्रहण गर्ने क्रममा चारवटा फाइल सदर गरेका छन् । जसमध्ये एउटा फाइलमा खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयलाई बजेट सहमति दिने थियो ।
अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यका अनुसार यसबाहेक अर्थ मन्त्रालयले यसअघि खर्चको सहमति दिएका विभिन्न संघीय, प्रादेशिक, जिल्ला र स्थानीय तह स्तरका स्वास्थ्य संस्थालाई समेत अर्थ मन्त्रालयले बजेट स्वीकृत गरेको छ ।
यसैगरी, उनले स्वास्थ्यबाट आईसीयू, एचडीयू तथा भेन्टिलेटर खरिद भई भुक्तानीका लागि माग आएको ९६ करोड १२ लाख रुपैयाँ उपलब्ध गराउनेसम्बन्धी फाइलसमेत सदर भएको जानकारी दिए । प्रादेशिक र स्थानीय अस्पतालाई यसअघि सहमति दिएअनुसार ५२ करोड ४६ लाख रुपैयाँ उपलब्ध गराउनसमेत अर्थले फाइल सदर गरेको छ । कोभिडसम्बन्धी विभिन्न दायित्व, अस्पतालको सोध भर्ना र जोखिम भत्तासमेतका लागि संघीय स्तरका लागि ५६ करोड ४१ लाख र प्रदेश र स्थानीय तहमा जानेगरी ३७ करोड २४ लाख रुपैयाँ निकासाको फाइलसमेत नवनियुक्त अर्थमन्त्री शर्माले सदर गरेका हुन् ।

सरकारको भिजनअनुसार नयाँ बजेटको तयारी गरिने
नवनियुक्त अर्थमन्त्री शर्माले नयाँ बनेको सरकारको आवश्यकता र भिजनअनुसार आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट संशोधन गरिने बताएका छन् । अर्थमन्त्रीको कार्यभार सम्हालेलगत्तै कर्मचारीहरूसँगको पहिलो बैठकमा शर्माले बजेट संशोधन गर्ने विषय इंगित गरेका हुन् । ‘बजेटका सन्दर्भमा अदालतले केही कुरा बोलेको पनि छ । नयाँ सरकारको आफ्ना आवश्यकता र भिजनको कुरा पनि छ । यसबारे हामी विस्तृ छ छलफलमा लागौं,’ अर्थ मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै उनले भने ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई केही परिवर्तन गरी संसद्बाटै पारित गरेर ल्याउने नयाँ सरकारको तयारी छ । अर्थमन्त्री शर्माले आफू अर्थतन्त्रको राम्रो ज्ञाता नभएको र संयोगले अर्थमन्त्रीको जिम्मेवारीमा आइपुगेकाले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्न पनि कर्मचारीलाई आग्रह गरे ।

‘म संयोगले अर्थमन्त्री भएको हुँ, मलाई विश्वास गरेर यो जिम्मेवारी दिइयो,’ शर्माले भने, ‘म अर्थशास्त्रको कुनै विज्ञ होइन । कुनै विश्वविद्यालयमा ठूलो अध्ययन गरेर आएको पनि होइन । तर, अहिलेको समस्या कहाँनेर छ भन्ने कुराको पहिचान गर्न सक्छु ।’ मन्त्रालयका काम कारबाही प्रभावकारी रूपमा सञ्चालन गर्न कर्मचारी संयन्त्रबाट ठूलो सहयोगको अपेक्षा आफूले राखेको शर्माले बताए । यसैगरी, उनले सरकारले आगामी आवका लागि अघिल्लो सरकारले ल्याएको बजेट संशोधन गरेर जाने इंकित गरे । शर्माका लागि अर्थ मन्त्रालयको जिम्मेवारी नयाँ हो । तर, उनले अब नयाँ सरकारको भिजनअनुसार मुलुकलाई आर्थिक रूपले सम्पन्न बनाउने अभियानमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन ।

अर्थमन्त्रीको निर्देशनलगतै पुनर्निर्माणमा खटिएका इन्जिनियरहरूको माग पूरा
नवनियुक्त अर्थमन्त्री शर्माको निर्देशन लगतै लामो समयदेखि भत्ता नपाएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरूको माग पूरा भएको छ । दुर्गममा गएर काम गरेका उनीहरूले विगत एक वर्षदेखि पाउनुपर्ने भत्तालगायतका पारिश्रमिक नपाएको गुनासो अर्थमन्त्री शर्मासम्म पुगेपछि उनले तत्काल समस्या समाधान गरिदिएका हुन् ।

अर्थमन्त्री शर्माको निर्देशनपछि बुधबार उनीहरूलाई रकम भुक्तानी गर्न ८ करोड ३४ लाख ९४ हजार रुपैयाँ निकासा भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य डा. हरि पराजुलीले जानकारी दिए । कोरोना महामारीको प्रतिकूल परिस्थितिमा काम गरेका इन्जिनियरहरूको माग सम्बोधन भएसँगै उनीहरूलाई काम गर्न थप हौसला मिल्ने प्राधिकरणले जनाएको छ ।

इन्जिनियरहरूको माग सम्बोधनका लागि पराजुली अर्थ मन्त्रालयमा फाइल बोकेर बुधबार पुगेका थिए भने लगत्तै शर्माले मातहतको निकायलाई आवश्यक रकम भुक्तानी गर्न निर्देशन दिएका थिए । निकासा भएको रकम पुनर्निर्माणमा खटिएका ३ हजार ६४ जना इन्जिनियर तथा प्राविधिकलाई भुक्तानी गरिनेछ । यसअघि आफूहरूले पाउनुपर्ने सेवा सुविधाको माग गर्दै पटकपटक करारका ती इन्जिनियरहरूले आन्दोलन गर्दै आए पनि माग सम्बोधन हुन सकेको थिएन ।

नवनियुक्त शर्माले मुलुकमा गम्भीर स्वास्थ्य र आर्थिक संकटको बेला आफू अर्थ मन्त्रालयको जिम्मेवारीमा आइपुगेको भन्दै चुनौतीका चाङबीचको आफ्नो कार्यकाल सफल बनाउन कर्मचारीले सहयोगी भूमिका खेल्ने अपेक्षा राखेको पनि बताए । बुधबार अर्थ मन्त्रालयको पदभार ग्रहण गर्दै नवनियुक्त अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।

उनले आफ्नो इच्छाशक्ति र क्षमताले भ्याएसम्म आफूले काम गर्ने र कर्मचारीबाट पनि उत्कृष्ट कार्यसम्पादनको अपेक्षा राखेको बताए । ‘तपाईंहरूले गर्ने कामलाई अनुमोदन गर्ने, निर्देशन गर्ने र सहयोग हुनेगरी म आएको छु । मलाई अनुहार चाहिन्न । जात पनि चाहिन्न र कुनै झन्डा पनि चाहिन्न । मलाई काम चाहिन्छ,’ शर्माले भने ।

आफ्नो क्षेत्रमा पाएको जिम्मेवारी र कामलाई कसरी अगाडि बढाउने कसरी प्रभावकारी बनाउने, कसरी पारदर्शी बनाउने र जनताका लागि केही न केही योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै शर्माले भने, ‘यो मेरो मात्र नभएर हामी सबैको प्रतिबद्धता हुनुपर्छ ।’ राजधानी दैनिकमा मधुजंग पाण्डेले खबर लेखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*