नागढुंगा सुरुङले लिएन गति

बाइलाइन नेपाल
१८ श्रावण २०७७, आईतवार ०८:२७

प्रधानमन्त्री केपी शर्मा ओलीले गत कात्तिक ४ मा नागढुंगा–सिस्नेखोला सुरुङमार्गको शिलान्यासका बेला भनेका थिए, ‘मुलुक अब सुरुङ युगमा प्रवेश गर्‍यो । यो सुरुङमार्ग तोकिएकै समयमा सकिनेछ ।’ उनले भने जस्तै भएको भए अहिलेसम्म सुरुङ छेड्ने काम सुरु भइसक्थ्यो । तर शिलान्यास भएको १० महिना पुग्दा पनि सुरुङ निर्माणमा प्रगति देखिएको छैन । अहिलेसम्म राम्रोसँग काम अघि बढ्न सकेको छैन । ४२ महिनामा निर्माण सक्ने गरी ठेक्का भए पनि कामले गति नलिँदा समयमै सक्न गाह्रो हुने देखिएको छ ।

मुआब्जाको समस्या नटुंग्याई ठेक्का गर्दा सुरुङमार्ग आयोजनाले समयमै निर्माण कम्पनीलाई साइट उपलब्ध गराउन सकेन । धादिङतर्फ रहेको श्री ५ को वायु गुठीको जग्गा उपयोग गर्दै आएका स्थानीयले शतप्रतिशत मुआब्जा मागेपछि साइट क्लियर गर्न समस्या देखियो । पछि वायु गुठीका मोहीलाई सरकारले ५० प्रतिशत क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेसँगै यति बेला निर्माणमा अवरोध छैन ।

‘अहिले मुआब्जाको समस्या छैन,’ सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले भने, ‘काठमाडौं र धादिङतर्फ निर्माणको काम सुरु भएको छ । कात्तिकदेखि फागुनसम्मै मुआब्जाको समस्या टुंगिएन । चैतमा कोरोनाले गर्दा लकडाउन भयो,’ उनले भने, ‘अहिले विस्तारै काम अघि बढ्दै गएको छ ।’ आयोजनामा करिब ४ सय कामदार चाहिन्छन् । अहिले १ सय १५ जना मात्र फिल्डमा छन् । केही कामदार लकडाउनको समयमा घर गएका र केही नयाँ थप्नुपर्ने देखिएको थापाले जानकारी दिए ।

अहिले धादिङतर्फ सुरुङ प्रवेश गर्ने ठाउँमा सडक निर्माणको काम भइरहेको छ । अहिले सुरुङछेउमा पर्ने खोल्सो फर्काउने काम भइरहेको छ । ‘पानी परिरहेकाले समस्या भएको छ । त्यस्तै विस्फोटक पदार्थ खरिद गर्न समयमै नेपाली सेनाले स्वीकृत नदिँदा पनि समस्या भएको हो,’ थापाले भने । आयोजनाले गत असोजमा विस्फोटक पदार्थ ल्याउन पाऊँ भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत रक्षा मन्त्रालयमा स्वीकृति दिन माग गरेको थियो । ‘विस्फोटक पदार्थ ल्याउने स्वीकृति पाउनै समय लाग्यो,’ थापाले भने, ‘बल्ल अहिले आएर अनुमति पाएका छौं, तीन महिनाभित्र भारतबाट विस्फोटक पदार्थ आइसक्छ ।’ उनका अनुसार अहिले ३ सय टन विस्फोटक ल्याउने गरी स्वीकृति दिइएको छ ।

जेठ तेस्रो साताबाट सुरुङ निर्माणको काम गर्ने भनिएको थियो । जेठमा सुरुङ नै खन्ने भनेर योजना पेस गरिएको थियो, विस्फोटक पदार्थ नहुँदा ढिला भयो । ‘सुरुङकै काम सुरु गर्न तीन महिना ढिला भयो,’ उनले भने । असोजसम्म विस्फोटक पदार्थ आउँछ । त्यसलगत्तै सुरुङ खन्न थालिनेछ । सुरुङ खन्न ९ सय टन विस्फोटक पदार्थ लाग्ने एस्टिमेट छ । एक/डेढ सय मिटर खनेपछि नेपाली सेनाले उत्पादन गरेको विस्फोटक पदार्थ ल्याएर परीक्षण गरिने थापाले जानकारी दिए । ‘उक्त विस्फोटक सन्तोषजनक पाइए त्यसपछि भारतबाट ल्याउन्नौं,’ उनले भने, ‘सेनाले उत्पादन गरेको नै प्रयोग गर्छौं ।’

यसमा निर्माणको जिम्मा पाएको जापानी कम्पनी हाज्मा एन्डो पनि सहमत भइसकेको उनको भनाइ छ । निर्माण कम्पनीले सुरुङ खन्ने सबै मेसिन आयोजनास्थलमा ल्याइसकेको छ । अहिले मेसिन राख्ने र आफू बस्ने क्याम्प बनाउने काम पनि जारी छ । काठमाडौंतर्फ भने सुरुङमार्गमा पर्ने चार घरले डेढ वर्षअघि मुआब्जा लिए पनि अहिलेसम्म खाली गरेका छैनन् । ‘बर्खामा जबर्जस्ती उनीहरूलाई हटाउने कुरा भएन,’ थापाले भने, ‘बर्खा सकिनेबित्तिकै हटेनन् भने आफैं हटाएर निर्माणको काम अघि बढाउँछौं ।’ उनका अनुसार समग्रमा सुरुङ, सडक, फ्लाइओभर, भवन बनाउनुपर्ने काम छन् ।

अहिलेसम्म तोकिएकै समयमा काम सकिने अवस्था रहेको उनको दाबी छ । २.६८ किमि दूरी रहने सुरुङ निर्माणका लागि जापानको साढे १६ अर्ब ऋण सहयोग छ । ठेक्का भने साढे २२ अर्ब रुपैयाँको हो । यसमा ६ अर्ब नेपाल सरकारको रहेको छ । -कान्तिपुर दैनिकमा विमल खतिवडाले खबर लेखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*