एसईई नतिजा निकाल्ने अन्तिम तयारी

बाइलाइन नेपाल
August 1st, 2020

राष्ट्रिय परीक्षा बोर्डले यही साताभित्र आन्तरिक मूल्यां‌‌‌‌कनका आधारमा एसईईको नतिजा सार्वजनिक गर्ने भएको छ । बोर्डले यसअघि साउन १५ भित्रै नतिजा प्रकाशित गर्ने जनाएको थियो । कोरोना संक्रमण र बाढीपहिरोका कारण नतिजा प्रकाशित गर्न केही दिन ढिलो हुने बोर्डले जनाएको छ ।

७७ वटै जिल्लाबाट विद्यार्थीले प्राप्त गरेको अंकको विवरण प्राप्त भइसकेको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिए । ‘विद्यार्थीले प्राप्त गरेका अंकहरू सिस्टममा चढाउने काम भइरहेको छ,’ उनले भने, ‘अंकलाई ग्रेडमा बदलेर रिजल्ट तयार भएपछि सार्वजनिक गर्छौं ।’ उनका अनुसार केही जिल्लाको मात्रै रिजल्ट तयार पार्ने काम बाँकी छ । ‘प्राविधिक कठिनाइ नआए २/३ दिनमै नतिजा प्रकाशित गर्न सकिन्छ,’ उनले भने ।

यस पटक एसईईमा सहभागी हुनेविद्यार्थीको संख्या ४ लाख ८२ हजार थियो । विद्यालयले अन्तिम पटक सञ्चालन गरेको परीक्षा (आन्तरिक मूल्यांकन) का आधारमा बोर्डले नतिजा प्रकाशन गर्न लागेको हो । नतिजा प्रकाशन गरेपछि परीक्षार्थीलाई बोर्डले नै ग्रेडसिट प्रदान गर्नेछ । विद्यालयले पछिल्लो पटक सञ्चालन गरेको कक्षा १० को परीक्षाका आधारमा एसईईका विद्यार्थीलाई प्रमाणपत्र दिने गरी बोर्डले कार्यविधि बनाएको छ ।

कार्यविधिअनुसार प्रधानाध्यापक अध्यक्ष रहेको परीक्षा समितिले जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइलाई विद्यार्थीले प्राप्त गरेको अंक सिफारिस गर्नेछ । विद्यालयले सिफारिस गरेको अंक इकाइले प्रमाणित गरी बोर्डमा पठाइसकेका छन् ।

सोही अंकका आधारमा ग्रेडिङ पद्धतिबाट नतिजा प्रकाशन हुनेछ । नतिजा प्रकाशनमा कुनै त्रुटि, नतिजा स्थगित वा छुट भएमा सम्बन्धित विद्यालयको सिफारिससहित नतिजा प्रकाशन भएको मितिले ३५ दिनभित्र सम्बन्धित इकाइमा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*