कोरोना प्रभाव : १ दर्जन फिल्मको रिलिज स्थगित, करोडौं लगानी जोखिममा

बाइलाइन नेपाल
५ चैत्र २०७६, बुधबार ०८:५३

निर्माता सन्तोष सेनले ‘प्रेमगीत ३’ मा चार करोड लगानी गरिसकेका छन् । चैत २८ गते प्रदर्शन मिति तोकेर पोस्टर र टिजर सार्वजनिक गरे । खर्च ठूलो भएकाले सुरुवातबाटै बक्सअफिसमा खरो उत्रनुपर्ने बाध्यता छ । त्यसैले नयाँ वर्षको दाउ छोपेका थिए तर रिलिजको तीन साता बाँकी रहँदा फिल्म नचलाउने मुडमा पुगेका छन् । कोरोना भाइरस (कोभिड–१९) कारण हल सुनसान भएपछि सेनले रिलिज स्थगित गर्न लागेका हुन् ।

‘मान्छेहरु हलमा जान डराइरहेका छन्, सबैलाई स्वास्थ्यको चिन्ता छ, यस्तो सुस्तता छाएको बेला फिल्म चलाउँदा हामीलाई नै घाटा लाग्छ,’ सेनले दुखी हुँदै भने। यो फिल्मको ओभरसिज राइट १ करोडमा बिक्री भएको छ। ओभरसिज वितरकले पनि केही समय नचलाउन आग्रह गरेको उनले बताए।

कोरोनाको भयले ‘प्रेमगीत ३’ सँगै करिब एक दर्जन फिल्मको प्रदर्शन रोकिँदै छ। रिलिज धकेलिँदा लगानीको भार बढ्छ भने दर्शकको फिल्मप्रतिको चाह घट्छ। सेनले भने, ‘एकपछि अर्को फिल्म सर्दा करोडौं लगानी जोखिममा परेको छ।’ अहिले ‘स्टक’मा बसेका फिल्म पछि एकैपटक चलाउनुपर्ने हुन्छ। दर्शक बाँडिन्छन्, व्यापार कमजोर हुन्छ। वितरक करण श्रेष्ठ भन्छन्, ‘उसै त हप्तैपिच्छे दुई–तीन फिल्म जुध्छन्। झन् लामो समय चल्न नपाएपछि फिल्म थुप्रिन्छन्। त्यसैले कोरानोको त्रास हटेपछि पनि सिनेमाका लागि सुखद स्थिति बनिहाल्दैन।’ निर्मातालाई एमजी (मिनिमम ग्यारेन्टी) रकम दिइसकेका फिल्मसमेत रोकिएको श्रेष्ठले दुखेसो गरे।

कोरोनाको मारमा परेको पहिलो नेपाली फिल्म हो, ‘म यस्तो गीत गाउँछु २’। पूर्वनिर्धारित प्रदर्शन मिति फागुन ३० भन्दा एक साताअघि यो फिल्म अनिश्चित समयका लागि सरेको घोषणा गरिएको थियो। निर्माता/अभिनेत्री पूजा शर्माका अनुसार प्रमोसनमा खर्चिएको २० लाख रुपियाँ खेर गएको छ। फिल्मको लगानी २ करोड ८० लाख रुपैयाँ पुगेको शर्माले जानकारी दिइन्। फागुन ७ गते प्रदर्शन हुने भनिएका ‘नीरफूल’ र ‘बद्रिबहादुर’ पनि सरेका छन्। ‘सुस्केरा’ पनि पहिले घोषणा गरे अनुरुप चैत १४ गते नचल्ने वितरक श्रेष्ठले जानकारी दिए।

त्यस्तै, मल्टिस्टारर फिल्म ‘लक्का–जवान’ पनि चैत २१ गते नआउने पक्का भएको छ। निर्माता किरण केसी भन्छन्, ‘डरैडर छ, अब सर्नुको विकल्प भएन। भदौतिर रिलिज गर्ने योजना छ।’ फिल्ममा १ करोड ९२ लाख रुपैयाँ खर्च भइसकेको केसीले जानकारी दिए।

सौगात मल्ल र सृष्टि श्रेष्ठ अभिनित ‘माइकल अधिकारी’ चैत २८ बाट पछि हटेको छ। तर, यही दिन प्रदर्शन तोकिएको ‘चपली हाइट ३’ भने चल्ने सम्भावना छ। निर्माता अर्जुनकुमार भन्छन्, ‘हल बन्द भयो भने त सार्नै पर्‍यो नत्र हामी सार्दैनौं। नेपाली फिल्मलाई पुग्ने दर्शक आइरहेका छन्।’ तर, प्रदर्शन मिति नजिकिरहँदा यसको प्रमोसन देखिन्न।

कोरोनाले वैशाखको प्रदर्शन तालिका समेत अस्तव्यस्त हुने भएको छ। ‘हिजो आजको कुरा’ वैशाख १२ मा प्रदर्शन हुनेमा निर्माता सन्तोष पन्त ढुक्क छैनन्। पर्ख र हेरको अवस्थामा रहेको उनले सुनाए। ‘२ करोड खर्च भएको फिल्म हत्तारिएर चलाउने कुरा भएन। त्यसैले माहोल कस्तो बन्छ, हेर्दैछौं,’ पन्तले भने। हिन्दी फिल्म आएन र हल खुलिरहयो भने चलाउने सुरमा छन् उनी। ट्रेलरसहित अन्य प्रचारात्मक सामग्री तयारी अवस्थामा राखिएको छ। त्यस्तै, रेखा थापा अभिनीत ‘हिरो रिटर्न्स’ वैशाख २८ रिलिज हुनेमा शंका छ। टाइगर श्राफको ‘बागी ३’ समेत अपेक्षाकृतरुपमा नचलेपछि नेपाली निर्माताहरु हच्किएका हुन्। गत शुक्रबार प्रदर्शन भएका ‘अंग्रेजी मिडियम’ र ‘ब्लडसट्’ ले पनि दर्शक तानेनन्। ‘अहिले फिल्म चलाउँदा सिधैं डुबिन्छ भनेर निर्माता पछि हटेका हुन्। हामीले पनि चलाउन जोडबल गरिरहेका छैनौं,’ वितरक श्रेष्ठले भने।

त्यसो त, कोरोनाले आतंक मच्चाउनु अगावै पनि नेपाली फिल्मको हालत दयनीय थियो। ‘जात्रैजात्रा’, ‘कबड्डी कबड्डी कबड्डी’, ‘छ माया छपक्कै’ लगायतका केही फिल्मले मात्र यो वर्ष बक्सअफिसमा गतिलो प्रदर्शन गरे। मंसिर यता त पूरापूर खडेरी लाग्यो। कयौं फिल्मले देशभर दश लाख ग्रस कलेक्सन गर्न सकेनन्। यसबीच केही साता हलमा नयाँ फिल्म लागेनन्। सिताराम कट्टेल र कुञ्जना घिमिरेको ‘सेन्टी भाइरस’ ले पनि सुरुको दुई दिनमात्र हलमा भीड जम्मा गर्‍यो। ‘आमा’ को व्यापार औसतमै सिमित भयो।

फागुन लागेपछि भने हलमा दर्शक तानिने आशा थियो। किनभने, फागुन नेपाली फिल्मको सिजन मानिन्छ। जाडो हट्छ, शिवरात्री, फागुजस्ता पर्वमा बिदा हुन्छ। त्यस्तै, एसईईसहित स्कुल तहका अन्य परीक्षा सकिने भएकाले चैत पनि सुखद मानिन्छ। ‘तर, कोरानाले सिजनमा समेत सुक्खा लाग्यो। निर्माताभन्दा प्रदर्शक बढी मर्कामा परेका छन्,’ वितरण कम्पनी स्टेसन फाइभका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रचण्डमान श्रेष्ठको ठम्याइ छ।

हललाई धौधौ

मल्टिप्लेक्स चेन क्युएफएक्सका सिइओ रोशन अडिगाका अनुसार यो वर्ष नेपाली मात्र होइन, विदेशी फिल्म पनि चलेका छैनन्। कोरोनाको त्रासपछि त हलले थप संकट व्यहोर्नुपरेको छ। दिनानुदिन दर्शक पातलिँदै छन्। ‘पहिले हाम्रो औसत अकुपेन्सी ५० प्रतिशत थियो, अहिले २० प्रतिशतमा झरेको छ,’ अडिगाले चिन्तित हुँदै भने, ‘नयाँ फिल्म चल्दा त दर्शक आएका थिएनन्। अब पुरानो फिल्मले कहिलेसम्म धान्छ, टुंगो छैन।’ राजधानीमा मात्र ३१ मल्टिप्लेक्स स्क्रिन छन्। सिंगल थिएटर पनि सुनसान हुन थालेको छ।

मल्टिप्लेक्स हलले कोरोनाविरुद्ध सर्तकता अपनाइरहेका छन्। टिकट काउन्टर र शौचालयमा स्यानिटाइजर राखिएको छ। तर सजकता र सुरक्षा विधि अपनाउँदासमेत दर्शक हलसम्म तानिएका छैनन्। सरकारले गत फागुन २९ गते बिहीबार संक्रमणबाट जोगिन ठूलो संख्यामा मानिसहरु भेला हुने सिनेमा हल, सभा समारोह, सामाजिक कार्य एवं मेला महोत्सवमा सहभागी नहुन आहृवान गर्ने निर्णय गरेको थियो। त्यसअगावै काठमाडौं जिल्ला प्रशासनले आवश्यकबाहेक घर बाहिर ननिस्कन र भीडमा नजान आग्रह गरेको थियो।

हलमा संकट, सुटिङ निरन्तर
नयाँ फिल्म नआउने भएपछि हल सञ्चालक पुरानै फिल्मको पुनःप्रदर्शन गर्ने गृहकार्यमा जुटेका छन्। अडिगा भन्छन्, ‘हल बन्द भयो भने पछि दर्शकलाई तान्न गाह्रो हुन्छ। त्यसैले पुरानै फिल्मबाट भए पनि जसोतसो हल चलाइराख्ने जमर्को गर्दैछौं।’ हललाई जोगाउनु निर्माता र वितरकको पनि दायित्व भएको स्टेसन फाइभका सिइओ श्रेष्ठको भनाइ छ। ‘नयाँ फिल्म चलाउने अवस्था नभए हामीले पुरानै फिल्म दिएर भए पनि प्रदर्शकलाई बचाउने समय हो यो,’ उनले चिन्तित हुँदै भने, ‘हल बन्द हुने स्थिति आयो भने फिल्म देखाउने ठाँउ हुन्न। त्यस्तो नहोला भन्न सकिन्न।’ स्टेसन फाइभले वितरण गरेका ‘कबड्डी कबड्डी कबड्डी’, ‘जात्रै–जात्रा’ र ‘घामड शेरे’ पुनःप्रदर्शनको सम्भावना रहेको उनले जानकारी दिए। ‘लभ डायरिज’ पनि फेरि चल्दैछ। हलले चाहेको खण्डमा ‘छ माया छपक्कै’ पुन चलाउन सकिने निर्माता दीपकराज गिरीले बताए।

हल सञ्चालकको छाता संगठन नेपाल चलचित्र संघका प्रतिनिधिले मंगलबार अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडासँग कोरोना भाइरसका कारण हल समस्यामा परेकाले राहत प्याकेज घोषणा गर्न माग गरेका थिए। भेटमा खतिवडाले ज्यादै आतंकित हुनुपर्ने अवस्था नभएको र नेपाली चलचित्रको मध्यम र दिर्घकालीन विकासका लागि रणनीति बनाइरहेको आश्वासन दिएका थिए। फिल्म क्षेत्रमा देखिएको यो संकटबारे चलचित्र विकास बोर्ड भने मौन छ। प्रदर्शकलाई जसरी हुन्छ, हल टिकाइरहने चुनौती छ। दरबारमार्गस्थित क्युज सिनेमाजका म्यानेजर राकेश श्रेष्ठ भन्छन्, ‘भूकम्पपछि पनि हल सुनसान भएको थियो। दर्शकलाई पुनः हलमा ल्याउन एक वर्ष लाग्यो। फेरि त्यस्तै हुने खतरा बढेको छ।’ कान्तिपुर दैनिकमा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*